राष्ट्रिय जनगणना कार्तिक २५ देखि मङ्सिर ९ सम्म हुने

प्रकाशित मिति: २२ भाद्र २०७८, मंगलवार

सरकारले राष्ट्रिय जनगणनाको संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को नयाँ कार्यतालिका स्वीकृत गरेको हो ।

केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम सुरु गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ । ‘हामीले पठाएको प्रस्ताव स्वीकृति भएको छ, विभागका निर्देशक ढुण्डीराज लामिछाने ले भने, ‘अब अन्तिम तयारीका काम थाल्छौं ।’

विभागको संशोधित कार्यतालिकाअनुसार भदौ २० देखि २६ गतेसम्म सुपरभाइजर भर्ना गर्ने, भदौ २७ र २८ गते सुपरभाइजरलाई तालिम दिने र भदौ ३० देखि असोज १८ गतेसम्म सुपरभाइजर घरघरमा पुगेर सुचीकरणको काम गर्नेछन् ।

त्यसपछि गणक भर्ना गरी कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिने निर्देशक लामिछानेमूल ले जानकारी दिए । उनीहरूको तालिमपछि गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।

विभागका निर्देशक लामिछानेले जिल्लाहरूमा जनगणनाको तयारी निरन्तर भइरहेको बताए । यसअघि विभागले असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण जनगणना स्थगित भएको थियो ।

नेपालमा वि.सं १९६८ सालबाट जनगणना सुरु भएको हो । त्यसयता दोस्रो पटक तोकिएको समयमा जनगणना हुन नसकेको हो ।

२००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो । त्यसपछि कोरोना महामारीका कारण अहिले दोस्रो पटक जनगणनाको कार्यतालिका प्रभावित भएको हो ।

तर यसवर्ष भने २०७८ सालभित्रै जनगणना सकिने विभागको भनाइ छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट