मेहनती युवाले फेरिदिए गाउँकै मुहार

प्रकाशित मिति: ११ फाल्गुन २०७७, मंगलवार

पाँच वर्षअघिसम्म बागलुङ जिल्लाको गलकोट नगरपालिका-८ काँडेबास पचुवास्थित झारमौरामा पुर्खेली कृषि र पशुपालनबाहेक कुनै व्यवसाय थिएन । गाउँका युवा बेरोजगार थिए, आम्दानीको अन्य स्रोत भएन । जोशजाँगर भएर पनि बेरोजगार भएपछि नयाँ पुस्ता दिनभरि गाउँमा भौंतारिएर समय कटाउँथे । बिदेसिएर फर्किएका व्यक्ति पनि उता कमाएर ल्याएको पैसा गाउँमा लगानी गर्नुभन्दा सहरमै घरघडेरी जोड्नुपर्छ भन्ने मनसाय बनाउँथे । तर, अहिले समयसँगै भविष्यका कणर्धार मानिने युवावर्गको सोचमा पनि व्यापक परिवर्तन आएको छ । तिनै युवाको सक्रियताले पचुवा र झारमौरावासीप्रति अरूले हेर्ने दृष्टिकोणमात्रै बदलिएको छैन- सिंगो गाउँकै मुहार पनि फेरिएको छ ।

परम्परागत मान्यतालाई चुनौती दिँदै दुर्गम गाउँमा माछापालन गर्ने तिनै युवावर्ग अहिले उदाहरणीय बनेका छन् । गलकोट-८ पचुवा, झारमौराका धनबहादुर केसी, भीमबहादुर केसी, हीराबहादुर केसी र गलकोट-७ रिस्मीनिवासी अग्नि सापकोटाको यस्तो मेहनत देखेर अहिले गाउँका सर्वसाधारणदेखि प्रतिष्ठित व्यक्तिसम्म दंग छन् । वैदेशिक रोजगारीको सिलसिलामा लण्डनमा रहनुभएका धनबहादुरले सुरुमा आफ्नो जग्गामा व्यवसाय सञ्चालन गर्न स्थानीयवासी भीमबहादुर, हीरा अनि अग्निसँग सल्लाह गर्नुभयो । उहाँहरुबीच मिलेर व्यवसाय सञ्चालन गर्ने सहमति भयो । हीराबहादुर भन्नुहुन्छ- ‘आफ्नै गाउँघरमा केही लगानी र मेहनत गरियो भने बेरोजगारहरूले रोजगारी पाउने र आफ्नो पनि आम्दानीको बलियो स्रोत बन्न सक्छ भन्ने उद्देश्यले हामीले माछापालन सुरु गरेका हौं ।’ माछापालन व्यवसाय सुरु गर्नका लागि धनबहादुरले ४०, भीमबहादुर र हिराबहादुरले १५/१५ अनि अग्निले १० लाख रुपैयाँ लगानी गर्नुभएको थियो । उहाँहरुले पोखराबाट माछाका भुरा ल्याई २०७२ वैशाख ११ गतेबाट औपचारिक रूपमा माछापालन व्यवसाय थालनी गर्नुभएको हो । हाल करिब ३० रोपनी जग्गामा आठ रोपनी जग्गामा पोखरी बनाएर माछा उत्पादन गर्नुभएको छ भने बाँकी जग्गामा कुखुरापालन र तरकारी खेती गर्नुभएको छ । व्यवसाय पनि निकै फस्टाएको छ । यसले गाउँमा आर्थिक संकट समाधान त गरेको छ नै- केहीलाई रोजगारीको अवसर पनि दिलाएको छ ।

स्थानीयवासीले उत्पादन गरेका माछा विक्री हुन थालेपछि जिल्लाको बुर्तिबाङ, खर्वाङ र गलकोटको मुख्य बजार हटियालगायतका विभिन्न सहरबजार तथा छिमेकी जिल्ला गुल्मी, पर्वत अनि कास्कीबाट पनि गाउँमा रकम भित्रिएको छ । गाउँमा सञ्चालित होटल, रेष्टुरेन्ट पनि स्थानीयवासीले माछा उत्पादन गर्न थालेपछि बढी मात्रामा फस्टाएका छन्- जसले गर्दा गाउँमा बिरामी हुँदा, विभिन्न व्यापार, व्यवसाय, उद्योगधन्दा सञ्चालन गर्न पनि सस्तो ब्याजदरमा ऋण पाउन सहज भएको छ । व्यवसाय सुरु हुनुभन्दा पहिले अन्य केही कामको लागि ऋण लिन घण्टौ पैदल हिँडेर अनि त्यहींमाथि बैंकमा पुगेपछि पनि लाइनमा बसेर चर्को ब्याजदरमा ऋण लिनुपर्ने बाध्यता थियो । तर, अहिले व्यवसायबाट भएको आम्दानी गाउँकै सहकारीमा जम्मा गर्न थालेपछि यो बाध्यता पूणर्तः हटेको छ । उता व्यवसायबाट भएको आम्दानीले स्थानीयवासीले सहुलियत दरमा ऋण लिएर विभिन्न व्यापार, व्यवसाय, उद्योगधन्दा सञ्चालन गरी आर्र्थिक रूपमा सक्षम बन्ने अवसर पनि मिलेको छ ।

उसो त पर्याप्त जग्गाजमिन नहुँदा माछापोखरीलाई सोचेझैं व्यवस्थित पार्न सकिएको छैन । ‘भौगोलिक वातावरण अत्यन्त राम्रो छ । तर, भनेजति जमिन छैन । यस्तो प्रतिकूल अवस्थामा पनि खर्च कटाएर वार्षिक करिब आठदेखि नौ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ’ व्यवसायी भीमबहादुर आफ्नो दुखेसो र अनुभव एकैसाथ सुनाउनुहुन्छ- ‘पछिल्लो समय कोरोना र लकडाउनले विभिन्न पेशा व्यवसाय समस्यामा परे । तर माछापालन व्यवसायमा भने केही फरक परेको छैन- आम्दानीको स्रोत पटक्कै घटेको छैन ।’ माछापालन व्यवसायका लागि सुरुवातको चरणमा धेरै प्राविधिक समस्या देखिए । भूकम्पलगायतका प्राकृतिक विपत्ति सामना गर्नुपर्‍यो । जनशक्तिको अभावले माछापालन व्यवसायमा समस्या नै पर्‍यो । तर पनि उहाँहरुले हिम्मत हार्नुभएन । बरु निरन्तर रूपमा व्यवसायमा लागिरहनुभयो । मेहनत गरिरहनुभयो । त्यसैको परिणाम व्यवसायको आम्दानीमा कमी हुन पाएन । माछापालनकै लागि उहाँहरुले कृषि सेवा केन्द्र हरिचौरबाट ७० हजार रुपैयाँको अनुदान प्राप्त गर्नुभयो । अनुदान पाएपछि झन उहाँहरुमा व्यवसायलाई अझै बढाएर आम्दानीको स्रोत बढाउनुपर्छ भन्ने ऊर्जा थपियो । व्यवसाय सुरु गर्नुभन्दा अघि नै छिमेकी पर्वत जिल्लाको पातीचौर र पोखरा भुर्जुङ खोलाको माछापालक किसान र माछा विज्ञसँग मरामर्श लिएर ग्रास जातको माछा भित्र्याउनुभएको थियो । गाउँमा भएको माछापालन व्यवसायले विदेश जाने युवालाई रोकेको र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई रोजगारीको अवसर दिएको स्थानीयवासी अर्जुन कँडेलको बुझाइ छ । ‘माछामासु चाहिएको बेला टाढा शहर-बजारमा जानुपर्ने बाध्यता थियो पाँच वर्षअघि । अहिले गाउँमै माछापालन सुरु भएको छ, चाहेको बेला होटल, रेष्टुरेन्ट र घरमा माछा खान पाइन्छ ।’ अर्जुन कँडेल अगाडि भन्नुहुन्छ- ‘गाउँमा पर्याप्त पानी छ । माछापालन व्यवसाय फस्टाउने उपयुक्त अवसर छ ।’ ‘गाउँमै थपिएको यस्तो व्यवसायले व्यक्तिको आयस्रोत वृद्धि भएको छ । त्यतिमात्र होइन- माछा, कुखुरा र बाख्रापालनतर्फ स्थानीयवासी युवा आकर्षित भएका छन् ।’ स्थानीयवासी समाजसेवी तिला केसीको भनाइ छ ।

होटल व्यवसायी कुमारी चालिसे माछा खोज्दै हिँड्नुनपर्ने, ग्राहक आएको समयमा तुरुन्तै फोन गरेर मगाउन सकिने हुनाले स्थानीयवासीद्वारा उत्पादित माछा बेचेर आफ्नो होटल फस्टाएको बताउनुहुन्छ । त्यही भएर तुलनात्मक रूपमा धेरै विक्री हुने कुमारीको भनाइ छ । नमुना व्यवसायको रूपमा चिनिएको उक्त माछापालन व्यवसायले काँडेबास पचुवाको आर्थिक क्रियाकलाप बढाएको छ । पचुवामा माछापालन व्यवसाय फस्टाउँदै जादा गाउँमै पनि सानो लगानीबाट व्यवसाय सुरु गर्दा पनि आर्थिक रूपमा सक्षम हुन सकिने रहेछ भन्ने सोचेर पछिल्लो समय पचुवामा मौसमी तथा बेमौसमी तरकारी खेती, कुखुरापालन, बाख्रापालनलगायतका व्यवसायमा स्थानीयवासीको आकर्षण बढ्न थालेको छ ।
साप्ताहिक विमर्शमा दीपा चालिसेले लेख्नुभएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट